दफा १२
निर्दोष तेस्रो व्यक्तिको अधिकारको संरक्षण
(१) दफा ११ को उपदफा (१) मा जुनसुकै कुरा
लेखिएको भए तापनि अदालतले निर्दोष तेस्रोव्यक्तिको कानूनी अधिकारको संरक्षण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्दोष तेस्रो व्यक्तिको कानूनी अधिकारको संरक्षण गर्न
अदालतले देहायको अवस्थामा सम्पत्ति वा साधन जफत गर्ने छैन ः–
(क) त्यस्तो व्यक्ति कसूरमा संलग्न भएको नदेखिएमा,
(ख) कुनै सम्पत्ति वा साधन कसूरबाट प्राप्त भएको वा कसूरसँग
सम्बन्धित भएको नदेखिएमा,
(ग) कसूर हुनुभन्दा अगावै कसैलाई दिएको सम्पत्ति वा साधनको हकमा
त्यस्तो सम्पत्ति वा साधन दिँदाका बखत कसूरमा प्रयोग हुन सक्छ
भन्ने कुरा निजलाई जानकारी भएको नदेखिएमा,
(घ) कसूर हुँदाका बखत वा कसूर भइसकेपछि प्राप्त गरेको सम्पत्ति वा
साधनको हकमा त्यस्तो व्यक्ति कसूरमा संलग्न नदेखिएमा र त्यस्तो
सम्पत्ति वा साधन कसूरबाट प्राप्त भएको वा कसूरसँग सम्बन्धित
भएको कुरा निजलाई जानकारी भएको वा जानकारी हुन सक्ने मनासिब
आधार भएको नदेखिएमा ।
(३) जफत भइसकेको कुनै सम्पत्ति वा साधनमा उपदफा (२) बमोजिमको अवस्था
भई निर्दोष तेस्रो व्यक्तिको कानूनी अधिकार भएको देखिएमा अदालतले त्यस्तो सम्पत्ति वा
साधन सम्बन्धित व्यक्तिलाई फिर्ता दिलाई दिनेछ ।
(४) उपदफा (३) बमोजिम फिर्ता दिनु पर्ने ठहरिएको सम्पत्ति वा साधन लिलाम
बिक्री भइसकेको देखिएमा त्यस्तो सम्पत्ति वा साधन लिलाम बिक्री हुँदा प्राप्त भएको रकम
अदालतले सम्बन्धित व्यक्तिलाई फिर्ता दिलाई दिनेछ ।